मंगलबार, ९ भदौ २०८३ | ४:१४ PM
भदौ २२ गतेदेखि बेनी हाइड्रोपावरले थप सर्वसाधारणका लागि आईपीओ निष्कासन…

भदौ २२ गतेदेखि बेनी हाइड्रोपावरले थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने 

लगानीबक्स ९ भदौ २०८३ ३:४० अपराह्न

काठमाडौं । पहिलो चरणको आईपीओ निष्कासन तथा बाँडफाँटपछि थप सर्वसाधारणमा बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । गत वैशाख २९ गतेनै पहिलो चरणको आईपीओ बाँडफाँट सम्पन्न गरेको यस कम्पनीले करिब चार महिनामा भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले गत वैशाख २ गतेपछि आईपीओ निष्कासनका लागि कुनै पनि कम्पनीलाई स्वीकृति दिएको छैन् । यस कम्पनीले भने गत माघ २९ गतेनै प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा २० लाख ८० हजार कित्ता  आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो ।

कुल कित्ता आईपीओमध्ये १० लाख ४० हजार कित्ता आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरि बाँकी रहेको १० लाख ४० हजार कित्तामध्येबाट १ लाख ४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, २० हजार ८०० कित्ता कर्मचारीहरु र ५२ हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरी ८ लाख ६३ हजार २०० कित्ता आईपीओ भने थप सर्वसाधारणमा निष्कासन गर्न लागिएको हो । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिनेछ । निष्कासन मिति छिटोमा भदौ २५ गतेसम्म तोकिएको छ । यो अवधिसम्म माग बमोजिम आवेदन प्राप्त नभएमा ढिलोमा असार ५ गतेसम्म निष्कासन लम्बिने जानकारी कम्पनीले दिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन पेश गर्न सकिने व्यवस्था छ । साथै मेरो शेयर अनलाईनमार्फत पनि आवेदन दिन सकिनेछ । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।

यस कम्पनीले कम्पनीले सोलुखुम्बु जिल्लामा १९ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजना निर्माणको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड ५१ लाख ७५ हजार २७ रुपैयाँ २० पैसा छ भने प्रतिमेगावाट लागत १९ करोड ४७ लाख ५ हजार ८०९ रुपैयाँ ४५ पैसा छ । व्यापारिक उत्पादन गरिरहेको यस कम्पनी गत आर्थिक वर्ष ०८१।८२ सम्म ७ करोड २६ लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ७० पैसा र प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ २७ पैसा छ ।