काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति प्राप्त गरेको छ । कम्पनीले १५ प्रतिशत बोनस शेयर वितरणपछि कायम ५७ करोड ५० लाख रुपैयाँ चुक्तापूँजीको आधारमा सोही रकम बराबरको हकप्रद शेयर निष्कासन गर्न भदौ ८ गते आयोगको पूर्वस्वीकृति प्राप्त गरेको हो ।
जलविद्युत कम्पनीहरुले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिनुपूर्व विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ । अब कम्पनीले बोर्डमा स्वीकृतिका लागि निवेदन दिन सक्नेछ । कम्पनीले नयाँ आयोजनामा लगानी र पुरानो आयोजनाका लागि लिएको कर्जा घटाउने प्रयोजनका लागि हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले मातृभूमी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी प्रालिले विकास गरेको १५ मेगावाट क्षमताको सिसुवा खोला जलविद्युत आयोजनामा लगानी गर्ने तथा ८ दशमलव ५ मेगावाट क्षमताको अपर हेवाखोला साना जलविद्युत आयोजनको निर्माण गर्दा लिएको ऋण घटाउने योजना बमोजिम हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

