बुधबार, १० भदौ २०८३ | ११:५३ AM
रसुवा बाढीबारे प्रधानमन्त्रीद्वारा राष्ट्रिय परिषद्को बैठक आह्वान

रसुवा बाढीबारे प्रधानमन्त्रीद्वारा राष्ट्रिय परिषद्को बैठक आह्वान

लगानीबक्स १० भदौ २०८३ ११:५२ पूर्वाह्न

काठमाडौं । रसुवामा बुधबार बिहान आएको विनाशकारी बाढीको विषयलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आह्वान गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भर्खरै सम्पन्न उच्चस्तरीय बैठकमा बाढीबाट हालसम्म भएको मानवीय तथा भौतिक क्षतिको विवरणबारे सम्बन्धित निकायहरूले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका छन्। प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाउन सरोकारवाला निकायलाई आवश्यक निर्देशन दिएका छन्।

बैठकमा विपद्पछिको अवस्थाको मूल्याङ्कन, प्रभावित नागरिकको तत्काल उद्धार तथा राहत व्यवस्थापन, र आगामी कदमबारे छलफल भएको जनाइएको छ। प्रधानमन्त्री शाहले संघ, प्रदेश र स्थानीय तहका निकायसहित सुरक्षा निकायलाई समन्वयात्मक रूपमा परिचालन हुन आग्रह गरेका छन्।
प्रधानमन्त्रीले यो विपद्को कठिन घडीमा सबै नागरिक, सामाजिक संघसंस्था तथा सम्बन्धित निकायलाई आ–आफ्नो ठाउँबाट बाढी प्रभावित क्षेत्रका नागरिकको उद्धार, खोज तथा राहतमा सक्रिय रूपमा सहयोग गर्न अपिल गरेका छन्।