शुक्रबार, २३ असोज २०८३ | ४:२४ AM
भोटेकोशी बाढीपीडितका लागि ग्लोबल आइएमई बैंकको ५ करोड सहयोग

भोटेकोशी बाढीपीडितका लागि ग्लोबल आइएमई बैंकको ५ करोड सहयोग

लगानीबक्स ११ भदौ २०८३ १:३१ अपराह्न

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ५ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

बैंकले बुधबार जारी गरेको विज्ञप्तिमा भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा व्यापक क्षति पुगेको उल्लेख गरेको छ। बाढीले सयौँ नागरिकको ज्यान गएको, कैयौँ बेपत्ता भएको तथा ठूलो संख्यामा परिवार विस्थापित भएको जनाएको छ। साथै, स्थानीय बस्ती, पुल, सडक सञ्जाल तथा जलविद्युत् आयोजनाहरूमा समेत ठूलो क्षति पुगेको बैंकको भनाइ छ।

बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। बेपत्ताहरूको खोजी, घाइतेहरूको उपचार, प्रभावित परिवारलाई खाद्यान्न तथा अस्थायी आवासको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुग्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत उक्त रकम उपलब्ध गराइएको बैंकले जनाएको छ।

ग्लोबल आइएमई बैंकले राष्ट्रिय संकट र विपद्को समयमा नागरिकको साथमा उभिनु आफ्नो सामाजिक दायित्व रहेको उल्लेख गर्दै विगतमा पनि बाढी, पहिरो, भूकम्प तथा महामारीजस्ता विपद्मा आर्थिक, भौतिक तथा मानवीय सहायता प्रदान गर्दै आएको जनाएको छ।

आधुनिक प्रविधि र ग्राहक सेवाका लागि परिचित बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’को उपाधि हासिल गरेको छ। साथै, युरोमनी अवार्ड फर एक्सलेन्स, बेस्ट बैंक ईएसजी नेपाल तथा बेस्ट इम्प्लोयरजस्ता प्रतिष्ठित पुरस्कारहरू समेत प्राप्त गरेको छ।