काठमाडौं । नेपाली संगीत समूह ‘सुकर्मा’ को एल्बम ‘SUKARMA – Live at Paris La Grande Pagoda’ प्रतिष्ठित ग्रामी अवार्ड®️ को ‘बेस्ट ग्लोबल म्युजिक एल्बम’ विधाका लागि विचाराधीनमा परेको छ।
फ्रान्सको पेरिसस्थित ला ग्रान्ड प्यागोडाको शान्त र आध्यात्मिक वातावरणमा रेकर्ड गरिएको उक्त एल्बममा पूर्वीय शास्त्रीय संगीतका सूक्ष्म लय, मधुर धुन र आध्यात्मिक भावनालाई प्रस्तुत गरिएको छ।
एल्बममा सितार घरानाका सुप्रसिद्ध वादक प्रा.डा ध्रुवेशचन्द्र रेग्मी, तबलावादक अविरोधन शर्मा र बाँसुरीवादक उमेश पण्डितको प्रस्तुति समावेश छ। उनीहरूको सांगीतिक सहकार्यले पूर्वीय शास्त्रीय संगीतको गहिराइ, विविधता र आध्यात्मिक एकतालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको जनाइएको छ।
ग्रामी अवार्डको ‘बेस्ट ग्लोबल म्युजिक एल्बम’ विधाका लागि विचाराधीनमा पर्नु नेपाली संगीतका लागि पनि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यसले नेपाली कलाकार र पूर्वीय शास्त्रीय संगीतलाई विश्व संगीतको ठूलो मञ्चमा थप चिनाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
‘SUKARMA – Live at Paris La Grande Pagoda’ एल्बम अहिले विभिन्न प्रमुख संगीत स्ट्रिमिङ प्लेटफर्महरूमा उपलब्ध रहेको जनाइएको छ।


