काठमाडौं । चौधरी फाउन्डेसन र नबिल बैंकले बाढीबाट प्रभावित समुदायका लागि १५ करोड रुपैयाँभन्दा बढीको राहत सहयोग घोषणा गरेका छन्।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक तथा चौधरी फाउन्डेसनका अध्यक्ष निर्वाण चौधरीले बाढी प्रभावित परिवारलाई तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त सहायता घोषणा गरेका हुन्।
घोषित सहयोगअन्तर्गत बाढी प्रभावित क्षेत्रमा ५०० वटा अस्थायी आश्रयस्थल निर्माण तथा सञ्चालनमा सहयोग गरिने जनाइएको छ। त्यस्तै प्रभावित परिवारका लागि खाद्यान्न, आवश्यक औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराउनुका साथै विभिन्न स्थानमा राहत शिविर सञ्चालन गरिनेछ।
बाढीका कारण घरबार तथा दैनिक जीवनयापनमा समस्या भोगिरहेका समुदायलाई तत्काल आवश्यक आधारभूत सेवा उपलब्ध गराउने उद्देश्यले राहत कार्यक्रम अघि बढाइएको हो।
चौधरी फाउन्डेसन र नबिल बैंकले प्रभावित क्षेत्रमा आवश्यकता पहिचान गरी राहत सामग्री वितरण, अस्थायी बसोबासको व्यवस्था तथा स्वास्थ्य सेवामा सहयोग गर्ने योजना बनाएका छन्।
निर्वाण चौधरीले विपद्को समयमा प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउनु निजी क्षेत्रको सामाजिक जिम्मेवारीसमेत भएको बताएका छन्। उनले बाढी प्रभावित परिवारलाई सुरक्षित आश्रय, खाद्यान्न र स्वास्थ्य सेवामा पहुँच पुर्याउन सहयोग केन्द्रित गरिने बताए।
