काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले कुल ४२ दशमलव ११ प्रतिशत लाभांश प्रस्ताव गर्दै भदौ १५ गतेका लागि बोलाएको साधारण सभाको मिति परिवर्तन गरेको छ । बाढीका कारण देशमा हाल सिर्जना भएको परिस्थितिका कारण कम्पनीले भदौ २६ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभा मेरियट होटल, काठमाडौंमा दिनको १२ः३० बजे सुरु हुनेछ । बुक विल्डिङ विधिबाट आईपीओ निष्कासनको तयारीमा रहेको यस कम्पनीले गत आर्थिक वर्ष ०८२÷८२ को लागि २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत २२ दशमलव ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले लाभांश प्रस्तावलाई पारित गर्नुका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु समेत पारित गर्नेछ । साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।
२० प्रतिशत बोनस शेययर वितरणपछि कायम हुने चुक्तापूँजीको २० प्रतिशत बराबरको आईपीओ सर्वसाधारणमा जारी गर्न आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिनेनिर्णय पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले साउन ३१ गते एक दिन बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा साउन २९ गते शुक्रवारसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।
