बिहीबार, २५ भदौ २०८३ | ६:४७ PM
लगातार पहिरो खस्दा कर्णाली राजमार्ग खुलाउन कठिन

लगातार पहिरो खस्दा कर्णाली राजमार्ग खुलाउन कठिन

लगानीबक्स २१ भदौ २०८३ ६:३८ अपराह्न

सुर्खेत, भदौ २१ । सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेस्थित कर्णाली राजमार्गमा आइतबार साँझ पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार साँझ करिब ५:०५ बजे सडकमाथिबाट ठूलो पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जानकारी प्राप्त भएपछि प्रहरी चौकी बड्डीचौरबाट प्रहरी सहायक निरीक्षक टोपेन्द्रबहादुर सिंहको कमाण्डमा ट्राफिक प्रहरीसहित चार जनाको टोली घटनास्थलमा खटिएको थियो।

पहिरो पन्छाउने कार्यका लागि सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। यद्यपि उक्त क्षेत्रमा लगातार पहिरो खसिरहेकाले जेसीबी घटनास्थलमै भए पनि तत्काल सफाइ कार्य सुरु गर्न जोखिम रहेको बताइएको छ।
हाल कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ।

घटनास्थल प्रहरी चौकी बड्डीचौरबाट करिब १७ किलोमिटर उत्तरमा पर्छ। अधिकारीहरूले यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।