काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सुपरमादी हाइड्रोपावर लिमिटेडको १५ प्रतिशत बोनस शेयरपछिको शेयरमूल्य तोकेको छ । नेप्सेले भदौ २२ गते कायम अन्तिम शेयरमूल्य प्रतिकित्ता ५२७ रुपैयाँको आधारमा १५ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । उक्त बोनस पछिको शेयरमूल्य नेप्सेले प्रतिकित्ता ४५८ रुपैयाँ २६ पैसा तोकेको छ । भदौ २४ गतेदेखिनको कारोबार समायोजनपछिको मूल्यका आधारमा खुला हुनेछ ।
गत आर्थिक वर्ष ०८२।८३ को मुनाफाबाट कम्पनीले बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारितका लागि कम्पनीले असोज १ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले भदौ २३ गते एक दिन बुक क्लोज गर्ने भएकाले नेप्सेले बुक क्लोजपछिको मूल्य तय गरेको हो ।
यस कम्पनीले २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपेयाँको आधारमा ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पनि यसै साधारण सभामार्फत पारित गर्दैछ । कम्पनीले ताप्लेजुङ जिल्लामा निर्माण गरिरहेको २८५ मेगावाट क्षमताको अपर तमोर जलविद्युत आयोजना निर्माणका लागि आवश्यक रकम संकलन गर्न हकप्रद शेयर जारी गर्न लागेको हो ।
