सल्यानको एउटा सामान्य परिवारमा जन्मिएर डाक्टर बन्ने सपना देखेका पूर्णबहादुर गन्धर्व परिस्थितिका कारण त्यो लक्ष्यबाट मोडिए । आमिर खानका चलचित्र हेरेपछि अभिनेता बन्ने अर्को सपना जन्मियो । आर्थिक अभाव, असफल अडिसन, अपमान, भोक र निराशासँग जुध्दै उनले अभिनयको बाटो रोजे । कहिलेकाहीँ मसानघाटमा एक्लै बसेर भविष्य सम्झँदै आँसु झारे, विदेश जाने र सुरक्षागार्डको काम गर्ने सोचसमेत बनाए । तर अभिनय छाड्न सकेनन् । थिएटरबाट सुरु भएको उनको यात्रा सडक नाटक, सिरियल, म्युजिक भिडियो र चलचित्र हुँदै अहिले ठूलो पर्दासम्म आइपुगेको छ ।
सल्यान जिल्ला, शारदा नगरपालिका–३ स्थित वयलडाँडा संगीत टोलमा रहेको एउटा सामान्य गन्धर्व परिवारमा पूर्णबहादुर गन्धर्वको जन्म भयो । आमा अनिता गन्धर्व र बुवा दुर्गा गन्धर्वको आर्थिक अवस्था कमजोर थियो । परिवारमा अभाव थियो, तर सपना देख्ने आँटको कमी थिएन । पूर्णबहादुर परिवारका जेठा छोरा हुन् । आज चलचित्रको पर्दामा देखिने उनको अनुहार पछाडि वर्षौंको संघर्ष, आँसु, भोक, अपमान र असफलताका अनेक कथा छन् । ती सबैलाई जोड्ने एउटा सूत्र थियो । अभिनेताभिनेता बन्ने सपना तर लामो समयसम्म उनले आफ्नो यो सपना कसैलाई सुनाएनन् ।
पूर्णबहादुरको बाल्यकाल सल्यानमै बित्यो । गाउँको सीमित परिवेश र आर्थिक कठिनाइबीच हुर्किए पनि उनले पढाइलाई गम्भीरतापूर्वक लिए । लुहापिङस्थित त्रिभुवन जनता उच्च माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि काका प्रेमबहादुर गन्धर्वले उनलाई काठमाडौं बोलाए । त्यतिबेला काका र भतिजाको साझा सपना थियो । पूर्णबहादुरलाई डाक्टर बनाउने तर सपना देख्नु र पूरा गर्नुबीच आर्थिक अवस्थाको ठूलो पर्खाल थियो । परिवारको कमजोर आर्थिक स्थितिका कारण डाक्टर बन्ने लक्ष्य तत्कालका लागि अधुरै रह्यो ।
उच्च शिक्षा अध्ययनका क्रममा उनले बायोलोजी पढ्न थाले । यही समयमा उनले आमिर खान अभिनीत ‘थ्री इडियट्स’ र ‘तारे जमिन पर’ हेर्ने अवसर पाए । ती चलचित्रले उनको मनमा नयाँ सपना जगाए । उनले मनमनै सोच्न थाले, ‘म पनि आमिर खानजस्तै अभिनेता बन्न पाए !’ तर यो आकांक्षा उनले परिवार र साथीभाइ कसैलाई सुनाएनन् । डाक्टर बन्ने पारिवारिक अपेक्षा र आर्थिक अभावबीच उनले अभिनयप्रतिको आफ्नो मोह मनको एउटा कुनामा लुकाएर राखे ।
घरको आर्थिक अवस्था सहज बनाउन उनले काकाको सहयोगमा व्यापार गर्न थाले । व्यापारसँगै पढाइलाई पनि निरन्तरता दिए र अन्ततः केमेस्ट्री मुख्य विषय लिएर स्नातक तह उत्तीर्ण गरे । पढाइ पूरा भएपछि भने वर्षौंदेखि मनभित्र दबाएर राखेको प्रश्न फेरि अगाडि आयो अब आफ्नो सपना के गर्ने ?
यही प्रश्नको उत्तर खोज्ने क्रममा स्नातक तहका साथी मणिकान्त झाले उनलाई थिएटरबारे बताए । अभिनय र मञ्चको संसार उनका लागि नयाँ थियो । त्यसपछि उनी मण्डला थिएटर पुगे । परिवारमा कोही कलाकार थिएनन्, यो क्षेत्रमा चिनजान थिएन र कसैले हात समाएर कलाकारिताको बाटो देखाइदिएको पनि थिएन । उनले आफैं सिक्नुपर्थ्यो, अवसर खोज्नुपर्थ्यो र असफलतासँग जुध्दै अगाडि बढ्नुपर्थ्यो।
थिएटरका सुरुवाती दिन उनलाई रमाइला लागे । अभिनय गर्न पाउनु, नयाँ मानिससँग भेट्नु र मञ्चमा उभिन पाउनु सपनाजस्तै थियो । तर बिस्तारै उनले कलाकारिताको कठोर यथार्थ बुझ्न थाले । अभिनयप्रतिको रुचि र प्रतिभाले मात्र जीवन चल्दैनथ्यो । काठमाडौंमा बस्न, पेट पाल्न र घरको जिम्मेवारी पूरा गर्न पैसा चाहिन्थ्यो । थिएटरमा काम नियमित थिएन । कहिलेकाहीँ दिनौंसम्म काम पाइँदैनथ्यो । उनी अडिसनमाथि अडिसन दिन्थे, तर कतै छनोट हुँदैनथे । अवसर पाए पनि साना भूमिकामा सीमित हुनुपर्थ्यो । कतिपय अवस्थामा भीडमा उभिने वा दृश्य पार गर्ने कलाकारका रूपमा मात्रै देखिन्थे । यस क्रममा उनले उपेक्षा र अपमानसमेत भोगे ।
उनका दिनहरू प्राय एउटै ढाँचामा बित्थे, हिँड्ने, काम खोज्ने, अडिसन दिने, थिएटर जाने र फेरि फर्किने । कहिलेकाहीँ हातमा काम हुँदैनथ्यो, खल्तीमा पैसा हुँदैनथ्यो र मनमा अनेक प्रश्न उठ्थे । ‘के म साँच्चै अभिनेता बन्न सक्छु ? यत्रो पढाइ गरेँ, अब के गर्दै छु ? घरको अवस्था यस्तो छ, मैले परिवारलाई के दिइरहेको छु ?’
यी प्रश्नले उनलाई भित्रभित्रै पोल्थे । कहिलेकाहीँ विदेश जाने सोच आउँथ्यो । सुरक्षागार्डको काम गरेर भए पनि जीवन धान्नुपर्छ कि भन्ने लाग्थ्यो । तर अभिनय छाड्ने निर्णयमा पुग्न सकेनन् । कठिनाइले उनलाई बारम्बार रोक्न खोज्यो, तर मनभित्रको सपनाले फेरि उठ्न प्रेरित गरिरह्यो ।
उनको संघर्षको सबैभन्दा भावुक अध्यायमध्ये एउटा मसानघाटसँग जोडिएको छ । शंखपार्कको मसानघाट होस् वा पशुपतिको, उनी त्यहाँ पुगेर घण्टौं एक्लै बस्ने गर्थे । वरिपरि मृत्युको शान्त वातावरण हुन्थ्यो, तर उनको मनभित्र भने अनेक प्रश्न र विचारको कोलाहल चलिरहेको हुन्थ्यो । आफ्नो विगत, वर्तमान र भविष्य सम्झिन्थे । यति पढेर पनि आफूले रोजेको क्षेत्रमा संघर्ष गरिरहेको अवस्थाले उनलाई भावुक बनाउँथ्यो । कहिलेकाहीँ आँसु झर्थे ।
सायद ती एकान्त क्षणले उनलाई जीवनको अर्को पाठ सिकाए । संघर्षबाट भागेर गन्तव्यमा पुग्न सकिँदैन भन्ने बोधले उनलाई फेरि उठ्न प्रेरित गर्यो । उनी आफैंलाई सम्झाउँथे, ‘भागेर कहाँ जाने ? संघर्षबाट भागेँ भने सपना पनि मर्छ ।’ त्यसैले अर्को दिन फेरि थिएटर जान्थे, अडिसन दिन्थे, अस्वीकार हुन्थे र पुनः प्रयास गर्थे । मसानघाटमा बिताएका ती क्षण उनका लागि निराशाको अभिव्यक्ति मात्र थिएनन्, आफैंलाई सम्हालेर अघि बढ्ने समय पनि थिए ।
समयसँगै उनको अनुभव बढ्दै गयो । उनी अभिनयमा मात्र सीमित रहेनन्, कथा लेख्न थाले । सडक नाटक, सिरियललगायतका काममा संलग्न हुँदै आफ्नो क्षमता विस्तार गरे । पछि भिडियो निर्माणतर्फ पनि लागे । कहिलेकाहीँ पैसा हुँदैनथ्यो, तर विचार हुन्थ्यो । आफ्नै ऋण लिएर नाटक बनाउने प्रयाससमेत गरे । यसरी उनी अवसरको प्रतीक्षा गर्ने कलाकारबाट आफैं अवसर सिर्जना गर्न खोज्ने कलाकारमा रूपान्तरण हुँदै गए ।
आमिर खानजस्तै अभिनेता बन्ने सपना बोकेर चलचित्र क्षेत्रमा प्रवेश गर्दा पनि सुरुवात साना भूमिकाबाटै भयो । कहिले एउटा दृश्य, कहिले एउटा सिन, कतिपय अवस्थामा त्यही कामको पारिश्रमिकसमेत पाइँदैनथ्यो । तर पर्दामा केही सेकेन्ड देखिन पाउनु पनि उनका लागि महत्त्वपूर्ण थियो । ती केही सेकेन्डभित्र उनले वर्षौंदेखि देखेको सपना र त्यसलाई पूरा गर्न गरेको संघर्ष जोडिएको थियो ।
उमेर बढ्दै जाँदा जिम्मेवारी पनि थपिँदै गए । पर्याप्त पैसा थिएन, आफ्नै घर थिएन, स्थायी काम थिएन र कलाकारितामा ठूलो पहुँच पनि थिएन । तर लक्ष्यप्रतिको प्रतिबद्धता थियो । त्यही प्रतिबद्धताले उनलाई कठिन परिस्थितिमा पनि अगाडि बढाइरह्यो ।
यो यात्रामा उनी पूर्ण रूपमा एक्ला भने थिएनन् । उनका काका गोविन्दकुमार गन्धर्वले पनि निरन्तर साथ दिए । तर पूर्णबहादुरको जीवनमा सबैभन्दा महत्त्वपूर्ण भूमिका काका प्रेमबहादुर गन्धर्वको रह्यो । प्रेमबहादुर उनका लागि केवल काका थिएनन् साथी, गुरु र अभिभावकसमेत थिए । पूर्णबहादुरकै शब्दमा ‘उहाँ मेरो लागि आमा, साथी, गुरु र भगवान् नै हो ।’ आर्थिक सहयोगदेखि भावनात्मक हौसलासम्म उनले पाएको साथलाई पूर्णबहादुर आफ्नो जीवनको अमूल्य सम्पत्ति मान्छन् । उनी भन्छन् ‘आज म जे छु, प्रेमबहादुर गन्धर्वकै कारण छु ।’
पूर्णबहादुरको जीवनमा बारम्बार निराशा आए । उनी रोए, एक्लै तड्पिए, आफूले रोजेको बाटो सही थियो कि थिएन भनेर प्रश्न गरे र विदेश जाने सोचसमेत बनाए । तर हरेकपटक फेरि उठे । अभिनय उनका लागि केवल रोजगारीको माध्यम रहेन, त्यो उनको अस्तित्वसँग जोडिएको सपना बनिसकेको थियो । त्यसैले सानो वा ठूलो भूमिका, पारिश्रमिकसहितको काम वा निःशुल्क अवसर, हरेकलाई उनले सिक्ने र अनुभव बटुल्ने माध्यमका रूपमा लिए ।
समयसँगै उनको मेहनतले आकार लिन थाल्यो । सडक नाटक, सिरियल र वेब सिरिज हुँदै म्युजिक भिडियो तथा विभिन्न चलचित्रमा अभिनय गर्ने अवसर पाए । ‘क्राइम पेट्रोल’ र ‘क्राइम फाइल’लगायतका परियोजनामा पनि काम गरे । दर्जनौं काम गर्दै जाँदा उनको अनुभव र आत्मविश्वास बढ्दै गयो । कुनै समय भीडमा उभिने भूमिकामा सीमित उनी बिस्तारै क्यामेराको अगाडि आफ्नो स्थान बनाउँदै गए । पर्दामा देखिने समय छोटो भए पनि हरेक अवसरले उनलाई अर्को भूमिकाका लागि तयार पार्दै लग्यो ।
त्यही यात्राले उनलाई ठूलो पर्दासम्म पुर्याएको छ । २०८३ सालको दसैंको फूलपातीमा प्रदर्शनमा आउने ‘बाह्र गाउँ २’ मा पनि उनले अभिनय गरेका छन् । चलचित्रमा विराज भट्ट र समीर भट्टसँग स्क्रिन सेयर गर्ने अवसर पाएका छन् । उनका लागि यो एउटा चलचित्रमा काम गर्ने अवसर मात्र होइन, वर्षौंको संघर्षले दिएको महत्त्वपूर्ण खुड्किलो हो । काम खोज्दै काठमाडौंका गल्लीमा हिँड्ने, अडिसन दिएर पनि असफल हुने र मसानघाटमा बसेर भविष्य सोच्ने दिनदेखि चलचित्रका कलाकारसँग एउटै पर्दामा देखिने अवस्थासम्म आइपुग्नु उनका लागि लामो यात्राको उपलब्धि हो ।
आफ्नो अनुभव सम्झँदै पूर्णबहादुर भन्छन् ‘यो क्षेत्रमा आउन जति सजिलो छ, त्योभन्दा कैयौं गुणा टिक्न गाह्रो छ ।’ उनका लागि थिएटर अभिनय सिक्ने ठाउँ मात्र बनेन, जीवनको विद्यालयसमेत बन्यो । त्यहाँ उनले अस्वीकार सहन, धैर्य गर्न, मानिस बुझ्न, भोकसँग जुध्न र आफूलाई चिन्न सिके । त्यसैले उनी भन्छन्, ‘थिएटरले मलाई बाँच्न सिकाएको छ ।’
आज पूर्णबहादुरसँग वर्षौंको संघर्षबाट जन्मिएको आत्मविश्वास छ । उनी भन्छन् ‘पहाड नै झरे पनि अब मलाई कसैले केही गर्न सक्दैन म आफूमा आत्मनिर्भर भइसकेको छु ।’ यो आत्मविश्वास कुनै एक दिनमा प्राप्त भएको होइन । यसका पछाडि आर्थिक अभाव, अनिश्चित भविष्य, असफलता, आँसु र निरन्तर प्रयासका अनेक तह छन् ।
पूर्णबहादुर गन्धर्वको कथा सफलताको अन्तिम बिन्दुमा पुगेर टुंगिएको कथा होइन । यो अझै जारी रहेको यात्रा हो । सल्यानको सामान्य परिवारमा जन्मिएको एउटा बालकले डाक्टर बन्ने सपना देख्यो । परिस्थितिले त्यो सपना पूरा हुन दिएन । त्यसपछि उसले आमिर खानजस्तै अभिनेता बन्ने अर्को सपना देख्यो । त्यो बाटो पनि सहज थिएन । तर उसले सपना मार्न दिएन । पढाइ गर्यो, व्यापार गर्यो, थिएटरमा प्रवेश गर्यो, अडिसन दियो, अस्वीकार सह्यो, मसानघाटमा एक्लै बसेर आँसु झार्यो, ऋण लिएर नाटक बनाउने प्रयास गर्यो र पारिश्रमिक नपाउँदासमेत अभिनयको यात्रा जारी राख्यो । आज त्यही यात्राले उनलाई ठूलो पर्दाका कलाकारसँग एउटै फ्रेममा उभिने अवसरसम्म पुर्याएको छ ।
उनको जीवनले सपना पूरा हुन समय लाग्न सक्छ, बाटो बदलिन सक्छ र परिस्थिति प्रतिकूल हुन सक्छ भन्ने देखाउँछ । लक्ष्यप्रतिको विश्वास र निरन्तर प्रयासले मानिसलाई कठिन परिस्थितिमा पनि अघि बढ्न प्रेरित गर्न सक्छ । पूर्णबहादुरको कथा केवल एक अभिनेताको कथा होइन यो परिवारको अभावबीच सपना देख्ने छोराको कथा हो । भतिजामाथि विश्वास गर्ने काकाको कथा हो र अपमानभन्दा ठूलो आफ्नो सपनालाई ठान्ने कलाकारको कथा हो । धेरैपटक टुटेर पनि हार नमान्ने मानिसको कथा हो ।
मसानघाटको एकान्तबाट पर्दाको उज्यालोसम्म आइपुगेका पूर्णबहादुर गन्धर्वको यात्रा एउटा अधुरो सपनालाई निरन्तर पछ्याइरहने यात्राको नाम हो । उनले अझै हासिल गर्न चाहेका धेरै कुरा बाँकी होलान् । त्यसैले उनको कथा यहाँ सकिँदैन । बरु उनले वर्षौंसम्म देखेको सपना ठूलो पर्दामा विस्तार हुँदै जाँदा उनको वास्तविक ‘हिरो’ बन्ने यात्रा अब नयाँ चरणमा प्रवेश गर्दै छ ।

