Ad
शुक्रबार, ११ मंसिर २०८३ | ३:२१ AM
सरकारको आम्दानी र खर्च पहिलो चौमासिकमा २३ प्रतिशत

सरकारको आम्दानी र खर्च पहिलो चौमासिकमा २३ प्रतिशत

लगानीबक्स सम्वाददाता १ मंसिर २०८३ २:१९ अपराह्न

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा सरकारको आम्दानी र खर्च दुवै वार्षिक लक्ष्यको करिब २३ प्रतिशत पुगेको छ। कात्तिक मसान्तसम्म सरकारले वार्षिक आम्दानी लक्ष्यको २३ दशमलव ३९ प्रतिशत प्राप्त गर्दा खर्चतर्फ २३ दशमलव ३७ प्रतिशत खर्च गरेको छ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्म सरकारले कुल चार खर्ब ९६ अर्ब ५२ करोड ११ लाख रुपैयाँ खर्च गरेको छ। सरकारले चालु आर्थिक वर्षका लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

खर्चमध्ये चालु शीर्षकमा सबैभन्दा बढी रकम खर्च भएको छ। यस शीर्षकमा १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपैयाँ विनियोजन भएकामा कात्तिक मसान्तसम्म तीन खर्ब ४६ अर्ब ७५ करोड २४ लाख रुपैयाँ खर्च भएको छ। यो वार्षिक विनियोजनको २७ दशमलव २९ प्रतिशत हो।

त्यस्तै, पुँजीगत शीर्षकमा चार खर्ब ३१ अर्ब १० करोड ६३ लाख रुपैयाँ विनियोजन भएकामा ३२ अर्ब ४४ करोड ८६ लाख रुपैयाँ मात्रै खर्च भएको छ। यो कुल विनियोजनको ७ दशमलव ५३ प्रतिशत हो।

वित्तीय व्यवस्था शीर्षकमा चार खर्ब २२ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा कात्तिक मसान्तसम्म एक खर्ब १७ अर्ब ३२ करोड रुपैयाँ खर्च भएको छ। यो वार्षिक लक्ष्यको २७ दशमलव ७६ प्रतिशत हो।

सरकारले चालु आर्थिक वर्षमा १६ खर्ब ४२ अर्ब छ करोड ३७ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ। कात्तिक मसान्तसम्म तीन खर्ब ८४ अर्ब सात करोड रुपैयाँ आम्दानी भएको छ।

यस अवधिमा राजस्व संकलनतर्फ तीन खर्ब ७२ अर्ब ७१ करोड ८० लाख रुपैयाँ प्राप्त भएको छ। सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ८० अर्ब ३१ करोड ८३ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ। यो लक्ष्यको २३ दशमलव ५८ प्रतिशत हो।

त्यस्तै, वैदेशिक अनुदानतर्फ सरकारले वार्षिक ६१ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखेकोमा कात्तिक मसान्तसम्म आठ अर्ब ६७ करोड ३५ लाख रुपैयाँ प्राप्त गरेको छ। यो वार्षिक लक्ष्यको १४ दशमलव पाँच प्रतिशत हो।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार पहिलो चौमासिकमा पुँजीगत खर्च र वैदेशिक अनुदान प्राप्तिको अवस्था तुलनात्मक रूपमा कमजोर देखिएको छ।