काठमाडौं । नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ । तिहारअघिदेखि तिहारपछिसम्मको एक साताको अवधिमा सुनको मूल्य प्रतितोला ११ हजार ३०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत कात्तिक २० गते शुक्रबार प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य कात्तिक २७ गते शुक्रबारसम्म आइपुग्दा घटेर २ लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको हो ।
यस अवधिमा सुनको मूल्य तीन दिन मात्रै निर्धारण भएको थियो । कात्तिक २२ गते आइतबार सुनको मूल्य स्थिर रहेको थियो भने कात्तिक २३ गते सोमबार प्रतितोला १ हजार ३०० रुपैयाँले घटेर २ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसपछि तिहारको सार्वजनिक बिदाका कारण कात्तिक २४, २५ र २६ गते सुनको मूल्य निर्धारण भएन । तिहारपछि शुक्रबार बजार खुलेसँगै सुनको मूल्यमा ठूलो गिरावट देखिएको हो । उक्त दिन मात्रै सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेको थियो । तिहारअघि र तिहारपछिको कारोबारलाई हेर्दा नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य उतारचढाव देखिएको छ । पछिल्लो गिरावटसँगै सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँमा झरेको छ ।

