काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमण तथा भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको हो।
बैठकले भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको जीवन रक्षा, आपतकालीन उद्धार तथा राहत कार्यका लागि चीन सरकारबाट प्राप्त हुने २० लाख अमेरिकी डलर नगद अनुदान स्वीकार गर्ने निर्णयसमेत गरेको छ।
त्यसैगरी, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट ‘र्यापिड क्रेडिट फ्यासिलिटी’ अन्तर्गत प्राप्त हुने करिब १० करोड ७० लाख अमेरिकी डलर बराबरको निर्व्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले देशभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्न आदेश जारी गर्ने निर्णय पनि गरेको छ। उक्त निर्णय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित रहेको छ।
यसैगरी, बैठकले ‘राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०२६–२०३०)’, ‘ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नर्म्स, २०२३’ र ‘राष्ट्रिय झोलुङ्गे पुल नीति, २०८३’ स्वीकृत गरेको छ। बैठकका निर्णयले प्रधानमन्त्रीको भारत भ्रमण, बाढी प्रभावितलाई राहत, आर्थिक सहायता तथा सार्वजनिक जग्गाको व्यवस्थापनलगायतका विषयलाई प्राथमिकता दिएको छ।

