२०८३ जेठ ११ | १:१६ PM
साहस उर्जालाई शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि आयोगले दियो पूर्व…

साहस उर्जालाई शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि आयोगले दियो पूर्व स्वीकृति 

कम्पनीले यस वर्षको २१ प्रतिशत बोनस शेयर वितरणपछि कायम चुक्तापूँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँको आधारमा सोही बराबर हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो ।

लगानीबक्स २०८२ चैत १८ १२:५० अपराह्न

काठमाडौं । साहस उर्जा लिमिटेडले प्रस्ताव गरेको शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगले पूर्व स्वीकृति प्रदान गरेको छ । कम्पनीले यस वर्षको २१ प्रतिशत बोनस शेयर वितरणपछि कायम चुक्तापूँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँको आधारमा सोही बराबर हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले विद्युत नियमन आयोगमा चैत १२ गते निवेदन पेश गरेकोमा आयोगको चैत १२ गतेको बैठकले पूर्व स्वीकृति प्रदान गरेको हो ।

नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर निष्कासनका लागि निवेदन पेश गर्नुअघि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था बमोजिम कम्पनीले आयोगको पूर्व स्वीकृति लिएको हो । हकप्रद शेयर निष्कासनबाट प्राप्त रकम टाइम्स इनर्जी प्रालिद्वारा प्रवर्धित ३४० दशमलव ४२३ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनामा लगानी गर्ने योजना कम्पनीको छ । गत मंसिर २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट कम्पनीले हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गरिसकेको छ । यस वर्ष कमपनीले कुल २२ दशमलव १० प्रतिशत लाभांश वितरण गरेको हो ।

२१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव १०५३ प्रतिशत नगद लाभांश यस वर्ष कम्पनीले वितरण गरेको होे । गत वर्षदेखि लाभांश वितरण गर्न सुरु गरेको यस कम्पनीले गत वर्षभन्दा यो वर्ष बढी लाभांश वितरण गर्न लागेको हो गत वर्ष कम्पनीले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत गरी कुल ८ दशमलव ४२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको नाफा ९० करोड ४८ लाख रुपैयाँभन्दा बढी रहेको छ । यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम ३ अर्ब २२ करोड रुपैयाँभन्दा बढी रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ५७ पैसा रहेको यस कम्पनीको प्रतिशेयर नेटवर्थ भने १७० रुपैयाँ ७२ पैसा छ ।