काठमाडौं। चालु आर्थिक वर्षको चैत मसान्तसम्म ४ अर्ब ४० करोड ११ लाख ७८ हजार रुपैयाँ खुद नाफा ग्लोबल आइएमई बैंक लिमिटेडले आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.९३ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष सोही अवधिमा बैंकले ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको गिरावटका कारण समग्र नाफामा दबाब परेको देखिएको छ । बैंकको खुद ब्याज आम्दानी घटेर ११ अर्ब ८८ करोड ४४ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्ष १२ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै, सञ्चालन नाफा ६.८२ प्रतिशतले घटेर ५ अर्ब ९० करोड ४६ लाख रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५४ लाख रुपैयाँ रहेको छ ।
बैंकको खराब कर्जा अनुपात ४.९८ प्रतिशतबाट घटेर ४.९७ प्रतिशतमा झरेको छ, जसले जोखिम व्यवस्थापनमा सामान्य सुधार देखाएको छ ।
३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २६ अर्ब ९२ करोड रुपैयाँ सञ्चित छ । प्रतिसेयर आम्दानी (EPS) १५ रुपैयाँ ४० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ५३ पैसा कायम भएको छ ।
समग्रमा, आम्दानीतर्फ दबाब देखिए पनि बैंकको आधारभूत वित्तीय संरचना स्थिर रहेको देखिएको छ ।

