काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४७ प्रतिशत पुगेको छ।
गत फागुन महिनामा मुद्रास्फीति ३.६२ प्रतिशत रहेको थियो। एक महिनाको अवधिमा महँगी ०.८५ प्रतिशत बिन्दुले बढेको देखिएको छ। अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति ३.३९ प्रतिशत रहेको थियो।
चैत महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.०१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यी समूहहरू क्रमशः २.४५ प्रतिशत र ३.९० प्रतिशतमा रहेका थिए।
समीक्षा अवधिमा घ्यू तथा तेलको मूल्य १२.८७ प्रतिशत, फलफूल ११.६७ प्रतिशत र तरकारी ९.१८ प्रतिशतले बढेको छ। यस्तै दाल तथा गेडागुडी, खाद्य तथा खाद्यजन्य पदार्थ र मरमसलाको मूल्य भने क्रमशः घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहमा सबैभन्दा बढी १९.९४ प्रतिशत मूल्यवृद्धि देखिएको छ। यातायात १२.०३ प्रतिशत, शिक्षा ७.४६ प्रतिशत, मदिराजन्य पेय पदार्थ ४.७७ प्रतिशत र कपडा तथा जुत्ता–चप्पल ४.७३ प्रतिशतले महँगो भएको छ।
ग्रामीण क्षेत्रमा मुद्रास्फीति ३.७१ प्रतिशत र सहरी क्षेत्रमा ४.७४ प्रतिशत रहेको छ। प्रदेशगत रूपमा लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ५.१५ प्रतिशत मुद्रास्फीति देखिएको छ। कोशी ४.९८ प्रतिशत, मधेश ४.९१ प्रतिशत, बागमती ४.२० प्रतिशत, गण्डकी ३.८५ प्रतिशत, कर्णाली ३.८२ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ३.३९ प्रतिशत मुद्रास्फीति रहेको छ।
काठमाडौं उपत्यकामा मुद्रास्फीति ४.६९ प्रतिशत, तराईमा ४.८३ प्रतिशत, पहाडमा ४.१८ प्रतिशत र हिमाली क्षेत्रमा ३.२० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

