काठमाडौं । नेपाली चलचित्र इतिहासका १० महत्त्वपूर्ण चलचित्रले जाँचपास प्रक्रिया पूरा गर्दै ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेका छन्। यससँगै ती चलचित्रहरू अब सबै उमेर समूहका दर्शकका लागि सार्वजनिक रूपमा प्रदर्शन गर्न सकिने भएको छ।
चलचित्र विकास बोर्डअन्तर्गतको सङ्ग्रहालयमा डिजिटाइज गरी सुरक्षित राखिएका यी चलचित्रहरू लामो समयदेखि जाँचपास प्रक्रियामा थिए। कानुनी रूपमा जाँचपास प्रमाणपत्रबिना सार्वजनिक प्रदर्शन गर्न नमिल्ने व्यवस्था रहेकाले अब भने महोत्सव, विशेष प्रदर्शनी, शैक्षिक कार्यक्रम तथा अन्य सार्वजनिक समारोहमा प्रदर्शन गर्न सकिनेछ।
जाँचपास प्रमाणपत्र श्री उदयबहादुर राणाले बोर्डका अध्यक्ष दिनेश डीसीलाई औपचारिक रूपमा हस्तान्तरण गरेका छन्।
‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गर्ने चलचित्रहरू :
कुमारी, सिन्दुर, आमा, बदलिँदो आकाश, के घर के डेरा, शान्तिदीप, जीवनरेखा, मनको बाँध, परिवर्तन र हिजो आज भोलि रहेका छन्।
यी चलचित्रहरू नेपाली समाज, संस्कृति, भाषा, जीवनशैली तथा चलचित्र विकासक्रमलाई प्रतिबिम्बित गर्ने महत्वपूर्ण दस्तावेजका रूपमा मानिन्छन्। तत्कालीन सामाजिक अवस्था र प्रविधिको झल्को दिने यस्ता चलचित्र अहिलेको पुस्ताका लागि पनि अध्ययन र सिकाइका महत्वपूर्ण स्रोत हुन् ।
चलचित्र विकास बोर्डले यी चलचित्रलाई नयाँ पुस्तासम्म पुर्याउन विशेष प्रदर्शनी कार्यक्रम सञ्चालन गर्ने, नेपाली चलचित्र इतिहासबारे जनचेतना अभिवृद्धि गर्ने तथा पुराना र दुर्लभ चलचित्रहरूको खोज, सङ्कलन, डिजिटाइजेसन र संरक्षण अभियानलाई थप तीव्र बनाउने जनाएको छ।
बोर्डका अनुसार, यो पहलले नेपाली चलचित्रको अमूल्य सम्पदाको संरक्षण गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्ने अभियानलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

