शुक्रबार, ५ भदौ २०८३ | ९:१८ AM
डबिङमा व्यस्त ‘१२ गाउँ २’, असोज ३० गते प्रदर्शन हुने

डबिङमा व्यस्त ‘१२ गाउँ २’, असोज ३० गते प्रदर्शन हुने

एक्सन नायक बिराज भट्को निर्देशन रहेको ‘१२ गाउँ’ बाट नेपाली चलचित्रमा समिर भट्ट उदियमान स्टारका रूपमा स्थापित हुन् ।

लगानीबक्स २४ साउन २०८३ ९:४९ अपराह्न

काठमाडौं । समिर भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘१२ गाउँ २’को डबिङ जारी छ । काठमाडौंको ग्लोबल रिल मोसन पिक्चर्समा आइतबार अभिनेता समिर भट्टले स्वराङ्कन गरेका हुन् । निर्देशक बिराज भट्टले समिर सहित अनुप बिक्रम शाही, कालु रानालगायतका कलाकारलाई डबिङ गराइरहेका छन्।

दशैंको अवसर पारेर फुलपातीको अघिल्लो दिन असोज ३० गतेबाट प्रदर्शन हुने चलचित्र २०८१ सालको हिट चलचित्र ‘१२ गाउँ’को सिक्वेल हो । एक्सन नायक बिराज भट्को निर्देशन रहेको ‘१२ गाउँ’ बाट नेपाली चलचित्रमा समिर भट्ट उदियमान स्टारका रूपमा स्थापित भएका थिए ।

पहिलो श्रृखलाको जवरजस्त सफलता अनि समिरको उम्दा क्रेजका बिच ‘१२ गाउँ २’ प्रतिक्षित चलचित्र बनिरहेको छ । ‘१२ गाउँ २’ लाई अझै ठूलो क्यानभाष, नविन कथा, सशक्त प्रस्तुति र उच्च प्राविधिक गुणस्तरसहित दर्शकमाझ ल्याउने तयारी गरिएको निर्माण पक्षको भनाइ छ । चलचित्रमा मनोरञ्जनसँगै एक्सन मात्र नभएर भावना तथा पारिवारिक कथालाई विशेष प्राथमिकता दिइएको बताइएको छ ।

डबिङका साथै पोस्ट–प्रोडक्सनका अन्य प्राविधिक काम पनि निर्धारित तालिकाअनुसार तीव्र गतिमा अघि बढिरहेको निर्माण पक्षले जनाएको छ । डबिङ कार्य सम्पन्न भएपछि चलचित्रको गीत, ट्रेलर र प्रचार–प्रसारका सामग्री क्रमशः सार्वजनिक गरिने तयारी रहेको बताइन्छ ।

चलचित्रमा निर्देशक बिराज भट्टका साथमा समिर भट्ट, अनुपविक्रम शाही, काफिया शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहित सिंह ठकुरी, पूर्णबहादुर गन्धर्वलगायत कलाकारहरूको अभिनय छ ।

सन्तोष सरकारको कथा तथा पटकथा रहेको चलचित्रमा महेश पौडेलको छायाँकन, स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन, कालाचरण र गीता गुरप्पाको ब्याकग्राउन्ड म्युजिक र सियोन श्रेष्ठको नृत्य निर्देशन रहेको छ ।