काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका सात संस्थासँग सहकार्य सम्झौता गरेको छ। बैंकका अनुसार सम्झौतापश्चात् महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले ती संस्थाबाट प्रदान गरिने विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन्।
सम्झौताअन्तर्गत चितवनको कुरिनटारस्थित मनकामना हिलक्रेष्ट होटलमा आवास तथा रेष्टुरेन्ट सेवामा १२.५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। त्यसैगरी ठमेलस्थित एलोफ्ट काठमाडौंमा खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म, लाजिम्पाटस्थित एल्लो हात्तीमा उपहार सामग्री खरिदमा १० प्रतिशतसम्म छुट पाइनेछ।
स्वास्थ्य सेवातर्फ बुद्धनगरस्थित अल्फा केयर डाइग्नोस्टिक सेन्टरमा स्वास्थ्य परीक्षण तथा प्रयोगशाला सेवामा २० प्रतिशतसम्म तथा कलंकीस्थित दृष्टि आई केयरमा आँखा, नाक, कान, घाँटी उपचार तथा प्रयोगशाला सेवामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ।
यस्तै, दरबारमार्गस्थित ओरियन्ट क्याफेमा खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म तथा मकवानपुरको हेटौंडास्थित होटल स्मारकमा आवास, खाना तथा पेय पदार्थ सेवामा १५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।
यस प्रकारको सहकार्यबाट बैंकका ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले व्यक्त गरेको छ। बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको समेत जनाएको छ।
