काठमाडौँ । नेपाल–तिब्बत सीमाक्षेत्रमा हालै आएको विनाशकारी बाढीपछि भारतले चीन र नेपालसँग सीमा जोडिएका आफ्ना हिमाली क्षेत्रमा रहेका हिमनदी तथा हिमनदीजन्य तालहरूको निगरानी बढाएको जनाएको छ।
भारतीय अधिकारीहरूका अनुसार उत्तराखण्ड राज्य सरकारले सम्बन्धित निकायलाई क्षेत्रका सबै हिमनदी र पहिचान भएका हिमनदीजन्य तालहरूको अवस्थाबारे नियमित अनुगमन गर्न निर्देशन दिएको छ। उत्तराखण्डका विपत्ति व्यवस्थापनमन्त्री मदन कौशिकले नेपालसँग सीमा जोडिएको र भौगोलिक अवस्था समान भएकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै निगरानीलाई तीव्र बनाइएको बताए।
यूएस जियोलोजिकल सर्भे (यूएसजीएस) का अनुसार बुधबार तिब्बत–नेपाल सीमामा आएको विपत्ति हिमनदी खस्दा उत्पन्न भएको लेदोसहितको तीव्र बहावका कारण भएको हुनसक्ने प्रारम्भिक निष्कर्ष रहेको छ।
वैज्ञानिकहरूले हिमनदी खस्नुको ठोस कारण अझै स्पष्ट नभए पनि जलवायु परिवर्तनका कारण विश्वभर हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका र त्यसले यस्ता प्राकृतिक विपत्तिको जोखिम बढाइरहेको बताएका छन्।
मन्त्री कौशिकका अनुसार राज्यका विभिन्न क्षेत्रमा यस्तै अवस्था सिर्जना हुने सम्भावनालाई ध्यानमा राख्दै प्राविधिक टोलीलाई सतर्क रहन र सम्भावित जोखिमको निरन्तर अनुगमन गर्न निर्देशन दिइएको छ।
सरकारी तथ्यांकअनुसार उत्तराखण्डमा एक हजार २६६ वटा हिमनदीजन्य ताल रहेका छन्। ठूलो संख्यामा यस्ता ताल रहेको कारण उत्तराखण्डलाई भारतका संवेदनशील पारिस्थितिक क्षेत्रमध्ये एक मानिन्छ।
वैज्ञानिकहरूका अनुसार हिमाली हिमनदीहरूले विश्वका करिब दुई अर्ब मानिसलाई आवश्यक पानी उपलब्ध गराउने महत्वपूर्ण स्रोतको रूपमा काम गर्छन्। तर जलवायु परिवर्तनका कारण तीव्र गतिमा भइरहेको हिमनदीको पग्लिने प्रक्रियाले हिमाली क्षेत्रका समुदायलाई अप्रत्याशित तथा विनाशकारी बाढी, पहिरो र अन्य प्राकृतिक विपत्तिको उच्च जोखिममा पुर्याएको छ।

