शुक्रबार, २६ भदौ २०८३ | १२:४१ AM
सुरङभित्र फसेकाको उद्धारमा ब्लास्टिङसम्मको तयारी, ९० जनाको संयुक्त टोली परिचालन

सुरङभित्र फसेकाको उद्धारमा ब्लास्टिङसम्मको तयारी, ९० जनाको संयुक्त टोली परिचालन

कूल ९० जनाको संयुक्त टोली परिचालित छ।

लगानीबक्स १४ भदौ २०८३ ४:२४ अपराह्न

काठमाडौं । नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरहरूले ब्लास्टिङ गर्नेसम्मका प्रयास अघि बढाएका छन्। पछिल्लो जानकारीअनुसार उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त खोज तथा उद्धार कुकुरसहित सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका ६ जना गरी कूल ९० जनाको संयुक्त टोली परिचालित छ।

उद्धार टोलीले आइतबार दिउँसो २ बजे सुरुङको मुख्य भाग (क्राउन हेड) सम्म पुगेर करिब २×३ फिटको प्वाल बनाउन सफल भएको थियो। त्यसपछि डोरीको सहायताले (र्‍यापेलिङ गरेर) उद्धारकर्मीहरू तल झरेर सुरङभित्र फसेकाहरूलाई बोलाएका थिए। तर, भित्रबाट कुनै प्रतिक्रिया प्राप्त नभएको जनाइएको छ।

उद्धार कार्यलाई थप प्रभावकारी र तीव्र बनाउन ठूला उपकरणको प्रयोग, ब्लास्टिङ तथा बनाइएको प्वाललाई अझ फराकिलो बनाउने काम एकसाथ जारी रहेको छ। कठिन भू–भौतिक अवस्था, लेदो र अवरोधका बीच पनि उद्धारकर्मीहरू अहोरात्र खटिएर सुरङभित्र पुग्ने प्रयास गरिरहेका छन्। सुरक्षाकर्मी र प्राविधिकहरूको संयुक्त टोलीले सम्भावित सबै विकल्प अपनाउँदै उद्धार अभियानलाई निरन्तरता दिएको जनाएको छ।