काठमाडौं । निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘द राइज अफ साम्राज्य’मा अभिनेता सुशील श्रेष्ठ अनुबन्धित भएका छन्।
छायांकनको अन्तिम तयारीमा रहेको फिल्मका लागि निर्देशक चौधरीले सुशीललाई अनुबन्ध गरेका हुन्। यसअघि नै फिल्ममा सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली र अमरप्रताप श्रेष्ठ अनुबन्धित भइसकेका छन्।
निर्देशक चौधरीका अनुसार सुशीलले फिल्ममा प्रमुख पात्रमध्ये एकको भूमिका निर्वाह गर्नेछन्। विभिन्न शैलीका चलचित्रमा अभिनय गर्दै आएका सुशीलका लागि यो भूमिका नयाँ चुनौतीपूर्ण हुने अपेक्षा गरिएको छ।
निर्माण टिमले फिल्मको छायांकनका लागि ७० दिनको तालिका तयार गरेको छ। अधिकांश छायांकन पूर्वी नेपालका विभिन्न स्थानमा गरिने जनाइएको छ। कथा र परिवेशअनुसार आवश्यक छायांकन स्थल छनोटको काम पनि अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ।
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मको कथा तथा पटकथा उपन्यासकार बुद्धिसागरले लेखेका हुन्। साहित्यिक क्षेत्रमा स्थापित बुद्धिसागरको कथा तथा पटकथामा फिल्म निर्माण हुने भएकाले यसको कथावस्तुप्रति दर्शकको चासो बढेको छ।
फिल्मका निर्माता प्रवेश चौधरी र निला देव हुन्। विश्वास बस्नेत (बेन) को–प्रोड्युसर तथा शंकर पाण्डे कार्यकारी निर्माता रहेका छन्। फिल्मको छायांकन मानकृष्ण महर्जनले गर्नेछन् भने एक्सन निर्देशन श्री श्रेष्ठले सम्हाल्ने ।

