शुक्रबार, १६ असोज २०८३ | १:०२ PM
बैंकिङ प्रणालीको तरलता नियन्त्रण गर्न राष्ट्र बैंकको १८ अर्ब निक्षेप…

बैंकिङ प्रणालीको तरलता नियन्त्रण गर्न राष्ट्र बैंकको १८ अर्ब निक्षेप संकलन आह्वान

लगानीबक्स सम्वाददाता १६ असोज २०८३ १२:०१ अपराह्न

rasra bank

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले १८ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकले सोमबार २८ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न लागेको जनाएको छ। यसका लागि अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनका लागि न्यूनतम १० करोड रुपैयाँ र अधिकतम कुल आह्वान रकम ननाघ्ने गरी ५ करोड रुपैयाँले भाग जाने रकमका आधारमा बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ। यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।

निक्षेप संकलन उपकरणको बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी आह्वान गरिएको रकमसम्म क्रमशः रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ। समान ब्याजदरमा आएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी हुन गएमा ‘प्रो रेटा बेसिस’का आधारमा बाँडफाँड गरिनेछ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणको अवधि पूरा भएपछि निर्धारण गरिएको ब्याजसहित संकलित रकम सम्बन्धित बैंकको खातामा जम्मा गरिनेछ। संकलित निक्षेपको साँवा तथा ब्याज भुक्तानी कात्तिक १६ गते गरिने तय गरिएको छ।