काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । गत आर्थिक वर्ष ०८२।८३ को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव सहित वार्षिक साधारण सभा बोलाएको छ ।
कात्तिक १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मंसिर १४ गते द एस आर होटल, रुपन्देहीमा विहान ११ बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो । सभाले हाल कायम चुक्तापूँजी १५ करोड ३४ लाख ४५ हजार रुपैयाँको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
यीसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय सभाले टुङ्ग्याउनेछ । सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २० गते बुक क्लोज गर्ने तयारी गरेको छ । बुक क्लोजको आधारमा कात्तिक १९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।
